होमपेज / समाज
मनाेज बाेहरा, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालय स्वायत्तता जीवनको अन्तिम लक्ष्य रहेको उल्लेख गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उपकुलपति सिंहले उक्त कुरा बताएका हुन्।
विश्वविद्यालयद्वारा गत चैत २९ गते सम्बन्धनका लागि आव्हान गरेको सूचनालाई लिएर विभिन्न विद्यार्थी संघ-संगठनहरुले रिले अनसन गरिरहेका छन्। यही विषयलाई लिएर अहिले सडकदेखि सदनसम्म विभिन्न टिका टिप्पणीहरु उठिरेका बेला विश्वविद्यालयको धारणा प्रष्ट पार्नका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको उपकुलपति सिंहले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै सिंहले गलत कार्यका लागि गलत सम्झौता नगर्ने बरु त्यसका लागि जस्तो सुकै चुनौतीको सामना गर्न तयार भएको स्पष्ट पारेका हुन्। विश्वविद्यालयको ऐन २०६७ को परिच्छेद ७ को दफा न १९ को दफा १, २ र उपदफा १ मा व्यवस्था भएअनुसार साथै विश्वविद्यालय संगठन तथा शैक्षिक - प्रशासनिक नियमावली २०६९ को परिच्छेद २४ को नियम १५८ को उपनियम १ मा भएको व्यवस्थामा टेकेर नै उक्त काम अगाडि बढाउन लागेको उपकुलपति सिंहले प्रष्ट पारेका छन्।
'मैले यदि विश्वविद्यालयको ऐन विपरित गरेको रहेछु भने कस्तो सजाय भोग्नुपर्छ भोग्न तयार छु तर ऐनमा भएको व्यवस्थालाई कुनै पनि हालतमा पूरा गरेर छोड्नेछु,' उपकुलपति सिंहले अगाडि भने, 'कि नेपाल सरकारले नै उक्त दफा, उपदफालाई हटाओस् अनि कसरी अगाडि बढ्ने भन्ने बारेमा सोचौला । हैन भने म कुनै पनि हालतमा पछि हट्दिन, कानुन भन्दा माथि कोही पनि छैन ।'
मेरा विद्यार्थी भाईबहिनीहरु भाेकभोकै अनसन बसेको र बिरामी भएको हेर्न नसक्ने भन्दै प्रा.डा सिंहले हातेमालो गरेर अगाडि बढ्न आह्वान गरे । कर्णालीको शिक्षास्तरलाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन लागाैं, विश्वविद्यालयमा भएको प्रगतिको समिक्षा गराै र मूल्यांकन गरौ तर कसैको पनि गोटी नबन्र आग्रह गर्दै उपकुलपति सिंहले आफ्नो र आफ्ना भाइ, बहिनी, छोरा, छोरीको भविष्यमा खेलवाड गर्ने कार्य नगर्न सबैलाइ आग्रह गरेका छन् ।
वार्ता गरेर समस्याको समाधान गर्न तयार भएकाे बताउँदै उपकुलपति सिंहले वार्ताको नाममा आवेगमा आएर बन्द कोठा भित्र डर-त्रास,धाक-धम्की देखाउदै जबर्जस्त हस्ताक्षर गर्न लगाउने होईन सुरक्षा सम्यन्त्रको साथमा खुल्ला रुपमा बहस गरेर अगाडि बढ्न तयार रहेकाे बताए।