होमपेज / समाज
काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा कर्णाली प्रदेशकाे हुम्ला जिल्लामा निर्माण गरिएकाे वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले जापान र क्यानडामा उत्कृष्ट अवार्ड जित्न सफल भएकाे छ । ‘सहायक श्रीमान’ (को–हजबेन्ड) का निर्देशक गणेश पाण्डेले जापानमा १ करोड ३० लाख रुपैयाँको सहयोग समेत प्राप्त गरेका छन् ।
को-हजबेन्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए जसमा को-हजबेन्डले यो पुरस्कार जितेको हो ।
अप्रिल १९ बाट सुरु भएको अवार्ड समारोहलाई को-हजबेन्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै, यो अवार्डलाई आफ्नाे करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि भएकाे बताएका छन्। उनले भने, 'नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो’ । निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो ।
यसैगरी, को-हजबेन्डले सोमबार नै क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा को-हजबेन्डले उत्कृष्ट पुरस्कार पाएको हो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।