ट्रेण्डिङ

होमपेज / समाज

अपाङ्ग, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकतामा राखेका छौ - अध्यक्ष शर्मा

नेपालगाथा २०८० बैशाख १२ गते मंगलबार १८:१०:३७ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टीकाराम शर्माले अपाङ्ग, बालबालिका र वृद्धवृद्धाहरुलाई प्राथमिकतामा राखेको बताएका छन् । 'वडा कार्यालयबाट हुने हरेक सेवा सुविधाहरुमा मेरो पहिलो प्राथामिकता अपाङ्ग, बालबालिका र वृद्धवृद्धाहरुलाई हुनेछ।' नेपालगाथा टक टाइममसँग कुरा गर्दै अध्यक्ष शर्माले यस्ताे बताएका हुन् । प्रस्तुत छ अध्यक्ष शर्मासँग गरिएकाे कुराकानीको छोटो अंश -

तपाई निर्वाचित भएको करिब एक वर्ष पुग्नै लागेछ । निर्वाचनको समयमा मतदाताहरुका सामू गरेका आस्वासन र वाचाहरु कति पूरा गर्नुभयो ? 

म निर्वाचित भईसकेपछि निरन्तर जनताकै काममा लागिरहेको छु। गरेका वाचाहरुमा कतिपय पूरा गरेको छु, कतिपय नीति नियममा रहेर काम गर्नुपर्ने भएकाले पूरा गर्न नसकेको जस्तो लाग्छ तर कतिपय कामहरु गर्न बाँकी पनि छन् यसलाई निरन्तरता दिइरहेकाे छु ।  हाम्रो वडाबाट घरघरमै गएर प्रत्येक हप्ता नर्सहरुबाट बिरामीलाई सेवा दिन सुरु गरेको छौ भने प्रत्येक महिना डाक्टरहरुबाट सेवा दिदै आएका छौ । २०७९/०८० को बाटोघाटो निर्माणमा विनियोजित बजेटको करिब करिब ७०/८० प्रतिशत कामहरु सम्पन्न गरिसकेको अवस्था छ । शिक्षा क्षेत्रमा पनि उतिकै लगानीका साथ अगाडि बढाएको अवस्था छ । समग्रमा जनताले अनुभूति गर्ने गरी काम गरेको जस्तो लाग्छ। 

अब तपाईको योजना के छ ?

मेरो योजना भनेको यस वडा भित्रका जनताहरुलाई कसरी स्थानीय सरकार भएको अनुभुति गराउन सकिन्छ भन्ने नै छ किनभने पछिल्लो समय नेट इन्टरनेटका कारण र कुनैकुनै जनप्रतिनिधिहरुको बदमासीका कारण जनतामा नकारात्मक छाप परेको अवस्था छ । जसले गर्दा जनतामा निराशा छाएको पाईन्छ। यसलाई साच्चै नै स्थानीय तह भनेको घरकै सरकार हो भन्ने बनाउनका लागि नै मेरा योजनाहरु निर्माण भइरहेका छन्।

त्यस सँगसँगै मूख्य ३ वटा योजनालाई अघि सारेको छु । फुटपात व्यवस्थापन, फोहोर व्यवस्थापन सँगै कौसी खेतीमा आकर्षण बढाउने र विद्यालयहरुलाई गाभेर थोरै तर सुविधा सम्पन्न, प्रयाप्त जनशक्ति, गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बनाउनु रहेको छ । कौसी खेतीबाट केही मात्रामा भए पनि ग्राह्यस्थ उत्पादनमा वृद्धि हुने देखिन्छ भने विद्यालयहरुलाई गाभेर भए पनि गुणस्तरीय शिक्षा प्रदान गरेर, शिक्षा लिनकै लागि विदेशिनु पर्ने, देशका अन्य सहरहरुमा जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा लिएको छु ।  जसले गर्दा आत्मनिर्भरताको बाटो देखाउन टेवा पुग्छ कि भन्ने छ ।

यसको पुरा अंश नेपालगाथाको यूट्युव च्यानल Nepalgatha Online TV मा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top