होमपेज / समाज
जाजरकोट । कर्णाली प्रदेश प्रहरीले जाजरकोट जिल्लाको विभिन्न स्थानहरूमा लगाइएकाे अफिम खेती नष्ट गरेकाे छ । सचेतनामुलक कार्यक्रम गर्ने सन्दर्भमा अवैध रुपमा गरिएका लागु औषध नष्ट कार्यलाई तिव्रता दिएको हाे । अपराध हुनु भन्दा हुनै नदिनु प्रहरीको प्रमुख उद्देश्य अनुसार पछिल्लो समयमा लागु औषध दुर्व्यसनी तथा बेचबिखनको मात्रा प्रदेशका विभिन्न जिल्लाहरूमा दिनप्रतिदिन बढिरहेको हुनाले लागु औषध बनाउन प्रयोग हुने विभिन्न प्रकारको कच्चा पदार्थ गाँजा, चरेश र अफिमलाई ओसारपोसार तथा बेचबिखनबाट नियन्त्रण गर्नका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा पेशा व्यवसायका रुपमा गरिने खेती नष्ट गर्दै आएको छ ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोट र मातहतका प्रहरी युनिटहरूले वैशाख १० गते एकै दिन अन्दाजी ७२ रोपनी जग्गामा अबैध रुपमा गरिएको अफिम खेति नष्ट गरेको हाे। जिल्लाको नलगाड नगरपालिका वडा नं. ३ दारेलेख,. वडा नं.०८ स्थित भ्याकुने, मंसिरे र भारगाउँ र बारेकोट गाँउपालिका वडा नं. ०८ बलेपाटामा कच्चा पदार्थको रुपमा प्रयोग हुने लागु अफिम खेति नष्ट गरेको हो । यसैगरी जुनिचाँदे गाँउपालिका वडा नं. ७ निपाने र भेरी नगरपालिका वडा नं. २ डिंगाभन्ने स्थानबाट पनि कच्चा पदार्थको रुपमा प्रयोग हुने लागु अफिम खेति नष्ट गरेको हो ।
जाजरकोट लागु औषध प्रयोग तथा बेचबिखनको हिसाबले धरै हुने जिल्लामा पर्दछ । यहाँबाट सुर्खेत, नेपालगंज तथा भारतसम्म गाँजा, चरेश, तथा अफिम बेचबिखन ओसारपोसार गर्ने गरिन्छ ।
पछिल्लो त्रिबर्षीय तथ्यांङक अनुसार जाजरकोट जिल्लामा लागु औषध सम्बन्धी सात(७) मुद्दा दर्ता गरी २१ जना मानिस पक्राउ गरिसकेको छ । आ.व. ०७७/०७८ मा लागु औषध सम्बन्धी २ वटा मुद्दा दर्ता, ४ जना मानिस पक्राउ तथा १० के.जि. अफिम र २९३ नाईट्राभेट, ९७९ ट्रामाडोल ट्याबलेट बरामद गरेको थियो ।
त्यसैगरी आ.व. ०७८/०७९ मा लागु औषध सम्बन्धी ३ मुद्दा दर्ता, ९ जना मानिस पक्राउ तथा १ के.जि. १३४ ग्राम चरेश, नाईट्राभेट-४५, ट्रामाडोल-६ र प्रोक्सिवेल स्पास-६ ट्याबलेट बरामद गरेको थियो ।
चालु आ.व. ०७९/८० मा हालसम्म लागु औषध सम्बन्धी २ मुद्दा दर्ता दुई , ८ जना मानिस पक्राउ तथा ९ ग्राम चरेश, नाईट्राभेट-६६, ट्रामाडोल-३५ स्पास-३० ट्याबलेट बरामद गरेको छ । त्रिबर्षीय तथ्याङ्क अनुसार यो ठुलो मात्रामा गरिएको बरामद हो ।