ट्रेण्डिङ

होमपेज / समाज

वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्न आह्वान

नेपालगाथा २०८० बैशाख ४ गते सोमबार १२:२९:२६ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ ।

‘समयमै भर्ना, समयमै ज्ञान:गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो । केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ ।

अभियानका सन्दर्भमा गत चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा मन्त्रालयमा जिल्ला समन्वय समिति महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारीहरूबिचको छलफलले सङ्घ, प्रदेश एवं स्थानीय तहबाट संयुक्तरूपमा शैक्षिकसत्र २०८०  मा विद्यालय उमेर समूह (पाँच वर्ष माथि)का सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिकसत्रमा सुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छनोट भएका छापाखानालाई आग्रह गरिएको बताए । सोको अनुगमन स्थानीय तहबाट हुनेछ । निजी विद्यालयको शुल्क निर्धारण पनि स्थानीय तहबाट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top