होमपेज / समाज
मनोज बोहरा, सुर्खेत । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड कार्यालय हुम्ला शाखाले खरिद गरेको रैथाने बाली कार्यालयमा नै थन्किएको छ । सिमकोट गाउँपालिकाले सङ्कलन गरेर खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड कार्यालय हुम्ला शाखालाई हस्तान्तरण गरेको करिब ३ हप्ता बितिसक्दा पनि रैथाने बाली ढुवानी हुन सकेको छैन ।
सिमकोट गाउँपालिकाको पहलमा र खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड कार्यालय हुम्ला शाखाको आर्थिक सहयोगमा खरिद गरिएका रैथाने बालीहरु चिनो, फापर, काकुनो र सिमी नियमित जवाईजहाज उडान नहुदा नेपालगञ्ज, काठमाडौँ जस्ता ठूला सहरहरुमा ढुवानी हुन नसकेको खाद्य व्यवस्था कार्यालय हुम्लाका नि.प्रमुख कृष्ण प्रसाद अधिकारीले नेपालगाथालाई जानकारी दिए ।
हुम्लामा सञ्चालन हुने निजी जहाज सिता, तारा र समिट मध्ये समिट र तारा जहाजले सिमकाेट-नेपालगञ्ज सम्म प्रति केजी ४५ रुपैयामा ढुवानी गर्ने सम्झौता गरेको अधिकारीले बताए । हस्तान्तरण गरेको करिब ३ हप्ता पुग्न लाग्दा पनि ढुवानी नहुदा बाली कार्यालयमा नै थन्किएको बताउदै अधिकारीले भने, 'हवाइ जहाज नियमित नहुँदा ढुवानीमा केही समस्या देखिएको र मौजात गरिएको चिनोको चामललाई जोगाइ राख्न कठिन देखिएको छ । भोलीबाट ढुवानी हुन्छ भनेर जानकारी आएको छ ।'
रैथाने बालीको उचित मूल्य प्रदान गर्दै किसानलाई प्रोत्साहन गर्न, बालीको संरक्षण, उत्पादकत्व वृद्धि गर्न बजारीकरणमा सहलगानी तथा सहकार्य गर्ने उदेश्यले सिमकोट गाउँपालीका र खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड प्रधान कार्यालय, काठमाडौँ बीच गत कार्तिक ३ गते सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार चिनो १२ क्विन्टल, फापर १० क्विन्टल, सिमि ५ क्विन्टल र काकुनो ६० केजी गाउँपालीकाले सङ्कलन गरेर गत फागुन २६ गते खाद्य व्यवस्था कार्यालय हुम्लालाई हस्तान्तरण गरिसकेको छ ।