होमपेज / समाज
धनगढी । लामो समयदेखि तलब भत्ता नपाएको भन्दै धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् ।
तलब भत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम अघि बढाएका हुन् । उनीहरुले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना समेत दिएका छन् ।
उप–महानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक उप–महानगरपालिका प्रशासन शाखामा हाजिरी गरी नगरपालिकाको प्राङ्गणमा जम्मा भई कालो पट्टि बाँधेर धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रम गर्ने भएका छन् ।
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ६ महिनादेखि तलब भत्ता नपाएको गुनासो गर्दै आएका छन् ।