होमपेज / समाज
काठमाडौं । बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ ।
पाँच वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको उक्त बस्ती निर्माणअन्तर्गत केही घर बन्न बाँकी छन् भने बनेका घरको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण केही महिनादेखि काम रोकिएको छ । छ घर निर्माण गर्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । बस्ती निर्माण सम्पन्न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि घर निर्माण तथा फिनिसिङको काम अलपत्र बनेको हो ।
बाँकी काम सम्पन्न गर्नका लागि नगरपालिकाले रू ४० लाख सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताउनुभयो। उहाँका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी कामसक्ने योजना बनाइएको छ । नगरप्रमुख टोकबहादुर वाइबाले पहिलो चरणमा लगेको पेस्की फछ्र्याेट भएपछि बस्ती निर्माणका लागि उपलब्ध गराउने रकम निकासा गरिने बताउनुभयो । यसअघि पालिकाले रू १० लाख सहयोग गरेको थियो । प्राधिकरणबाट समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो । समितिका अध्यक्ष आइतमान तामाङले पटकपटक रू ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणलाई निरन्तरता दिइएको बताउनुभयो ।
समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा रू दुई करोड ८० लाख निकासा भएको छ । तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको हो । एकतले तीनकोठा भएका एकै डिजाइनका घर निर्माण सम्पन्न गर्न जनश्रमदानबाहेक रू १३ लाख लाग्ने समितिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ दुई वर्षअघि एक सय ५० दिन खट्नुभएको थियो । नमुना तामाङ बस्ती निर्माण थालेपछि कामको दिन हेरेर उहाँसँगै गाउँका महिला, पुरुष जनश्रमदानमा जुट्नुभउको थियो ।
“गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउथ्यौँ, अहिले पैसा छैन भनेर काम रोकिएको सुनेका छौँ”, पञ्चकुमारीले भन्नुभयो । उहाँले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रू ५० हजार पाँच वर्षअघि सोही बस्ती निर्माणका लागि दिनुभएको थियो । सरकारसँग सम्झौता गरी तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए । विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रू एक करोड ४० लाख रकम निकासा भएको थियो । स्थानीय विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत सहयोग गरिरहेको बताउनुभयो । “भूकम्पपीडितको आवास निर्माणका लागि भनेर आएको पहिलो किस्ताको रू ५० हजार पनि बस्ती निर्माणमा खर्चिइएका छौँ”, उहाँले भन्नुभयो ।
बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ । रू ४० लाखमा निर्माण भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायत सामाग्री सङ्ग्रहित गरिने समितिका अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । “छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर निर्माण गरिएको हो”, उहाँले भन्नुभयो । रासस।