होमपेज / समाज
काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीनजना युवालाई नियन्त्रणमा लिएको विषयमा जवाफ माग गरेकी छन् ।
मंगलबार प्रधानमन्त्री दाहाल प्रचण्ड ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले नयाँ बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको,लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’ पौड्यालले प्रश्न गरिन् ।
संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उनले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेकी छन् । उनले अगाडि सोधिन्, ‘गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन ?’