ट्रेण्डिङ

होमपेज / समाज

बजारीकरणका लागि स्थानीय रैथाने बाली हस्तान्तरण

नेपालगाथा २०७९ फाल्गुण २७ गते शनिबार ०८:४०:५३ मा प्रकाशित

मनाेज बाेहरा, सुर्खेत । बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लालाई सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बाली हस्तान्तरण गरेको छ । जिल्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त बाली हस्तान्तरण गरेको हो ।

सिमकोट गाउँ कार्यपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय, काठमाडौं बीच गत कार्तिक ३ गते भएको सम्झौता अनुसार ४ लाख ३० हजार बढी रूपैयाँ बराबरको रैथाने बाली हस्तान्तरण गरेको पालिका कृषि शाखा प्रमुख नेत्र शाहीले जानकारी दिए।

पहिलो चरणमा चिनो (रातो) चामल, काकुनो चामल, फापर र सिमिलाई खरिद, संकलन, मूल्य निर्धारण र बिक्री वितरण तथा बजारीकरण गर्ने भनी सोही सम्झौता पत्रमा उल्लेख गरेको छ । जस अनुसार चिनो १२ क्विन्टल, फापर १० क्विन्टल, सिमि ५ क्विन्टल र काकुनो ६० केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लालाई हस्तान्तरण गरेको पालिका अध्यक्ष विजय भण्डारीले नेपालगाथालाइ जानकारी दिए।

स्थानीय रैथाने जैविक खेतीको संरक्षण र विकास गर्नुका साथै कृषिको आधुनिकीकरण, विविधीकरण र विशिष्टिकरणका माध्यमबाट उत्पादन, उत्पादकत्व वृदि र बजारीकरणमा सहलगानी तथा सहकार्य गर्न, सिमकोट गाउँपालिका भित्रका किसानहरूलाई प्रोत्साहन गर्न तथा बालीको उचित संरक्षण गर्ने उदेश्यका साथ रैथाने बालीको संकलन गरेको पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष सुशीला रोकाय, कृषि शाखा प्रमुख शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया लगायतको उपस्थितिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लाका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top