ट्रेण्डिङ

होमपेज / समाज

महिला चालक दलको कमाण्डमा वायुसेवा निगमको उडानमा सुरक्षित अवतरण

नेपालगाथा २०७९ फाल्गुण २४ गते बुधबार १४:०७:०६ मा प्रकाशित

काठमाडौं । नेपाल वायुसेवा निगमले महिला दिवसको अवसरमा पहिलोपटक महिला चालक दलका सदस्यहरू राखेर अन्तर्राष्ट्रिय उडान गरेको छ ।

वायुसेवा निगमको इतिहासमै पहिलोपटक महिला दिवसको दिन चालक दलका सदस्यहरू (ककपिट र क्याबिन क्रु) मा सबै महिला राखेर उडान भएको छ । ८ मार्च २०२३ (अन्तर्राष्ट्रिय महिला दिवस) को अवसर पारेर निगमको आरए २३० उडान नम्बरबाट दुबई–काठमाडौं उडान भएको छ । उडानमा क्याप्टेन, को–पाइलट, एयर होस्टेज सबै महिला रहेको टोलीले  काठमाडौंमा सुरक्षित अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चालक दलका सदस्यहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरे ।

उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को–पाइलट सिर्जना रावत, आईएफएस बास्ना राना, फ्लाइट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता केसी र अनिशा प्रजापति रहेका थिए । हाल निगममा कूल ९ जना महिला पाइलट रहेकामा १ जना ए३३० मा, ४ जना ए३२० मा र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत छन् । निगममा कार्यरत १४५ क्याबिन क्रूमध्ये ९६ जना महिला क्याबिन क्रू  छन् ।

यसअघि नेपाल वायुसेवा निगमको विमानबाट फागुन २१ गते पनि पहिलोपटक महिला टोलीले उडान गरेको थियो । उक्त दिन पाइलट भावना गिरी पन्त र को–पाइलट सिर्जना रावत, २ महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं–दुबई सुरक्षित उडान गरेर निगमकै इतिहासमा २ महिला पाइलटहरूले अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top