होमपेज / समाज
सिमकोट । हुम्ला जिल्लाकाे सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले सम्बन्ध प्रगाढ बनाउनका लागि भन्दै विभिन्न विषयमा समन्वयात्मक तथा साझेदारी सम्झौता गरेका छन् ।
छिमेकी पालिका समेत रहेका यी दुई गाउँपालिकाले एक आपसमा समन्वयात्मक गरेर अघि बढ्ने भन्दै मङ्गलबार सिमकोट गाउँपालिकाकाे कार्यालयमा पालिकाका अध्यक्ष द्वय विजय भण्डारी 'प्रतिरोध' र प्रेमबहादुर लामाले सयुक्त्त साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
समन्वयात्मक सयुक्त्त बैठकले आगामी २०८० सालको जेठमा सञ्चालन हुने स्वास्थ्य शिविरमा दुईवटा पालिकाकाे समन्वयमा सञ्चालन गर्ने, ०७९ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी सदरमुकाम सिमकोट स्थित सिमकोट नागरिक पर्यटन उड्यान प्राधिकरणको प्राङ्गणमा व्यवस्थापन तथा मर्मत संभार गर्नका लागि लाग्ने लागत स्टेमेट गरी सो लागत दुई गाउँपालिकाले व्यहाेर्ने उक्त सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
गाउँपालिकाहरुको ब्रोसर र पर्यटकीय सुचना बोर्ड चैत १५ गतेसम्म सम्पन्न गर्ने, आन्तरिक तथा वाह्य पर्यटक जिल्लाको सिमकोट हुँदै नाम्खागाउँपालिकाकाे लिमि लाप्चासम्म आगामन हुने भएकाले फोहोर व्यवस्थापनमा सहजताका लागि नाम्खा गाउँपालिकाको टाक्चिमा खानेपानी तथा शाैचालयको व्यवस्थापन गर्ने र सयुक्त्त रुपमा अवलाेकन भ्रमण गर्ने निर्णयमा हस्ताक्षर गरिएको छ ।
सिमकोट लाक्ना हुदै लिमि लाप्चा सडक अन्तरगत आवसीय विद्यालयदेखि चिसामुल सडक मर्मत र हेप्का खोला काठेपुल तत्काल मर्मतका लागि पुर्वधार विकास कार्यालयलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले बताएका छन्।
सिमकोट पालिकाले अब अन्य गाउँपालिकासँग पनि समन्वयात्मक तथा साझेदारी कार्यलाई अगाडि बढाउने अध्यक्ष भण्डारीले प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला राेकाय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा लगायतकाे उपस्थिति रहेकाे थियाे ।