होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिलाको सुरक्षालाई साझा अभियानका रुपमा अगाडि बढाइनु पर्ने बताएका छन् । । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश दिदैं प्रदेश प्रमुख परियारले सम्मान र रोजगारीलाई हासिल गर्न महिलाको आर्थिक, सामाजिक सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको कुरालाई मनन् गर्दै सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रुपमा अगाडि बढाउनु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् ।
उनले नेपाली जनताको महान जनयुद्ध र जनआन्दोलन प्रतिफलस्वरुप महिला सशक्तिकरणको क्षेत्रमा प्राप्त गरेका उपलब्धीहरु विश्व महिला आन्दोलनकै लागि प्रेरक मानिएको बताएका छन् । ‘नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिला माथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरु अन्त्य गरी पुरुष र नारी बीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको बताएका छन् ।
साथै दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरु पूरा गर्न हौसला प्रदान गर्ने विश्वास लिएको बताउँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृति प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न अन्तर्राष्ट्रिय नारी दिवसले लैंगिक समानताका विषयलाई आत्मसात् गर्न सहयोग पुग्ने विश्वास लिएको प्रदेश प्रमुख परियारले उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुच पुर्याउने जस्ता विषयहरु महिलाको हित संरक्षणमा केन्द्रित रहेको प्रदेश प्रमुख परियारको शुभकामना सन्देशमा उल्लेख छ ।