होमपेज / समाज
सुर्खेत । सुर्खेेतमा फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्वका अवसरमा बृहत हरियाली होली कार्यक्रम आयोजना गरेर मनाइएको छ । सुर्खेतको मुहारमा हरियाली ल्याउन र सफा वीरेन्द्रनगर बनाउन होली पर्वका अवसरमा बृहत हरियाली होली कार्याक्रम आयोजना गरिएको हो ।
पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण मासिदै गएको हरियाली फर्काउने उद्देश्यले सोमबार होली पर्वको अवसरमा वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको मुख्य सडक क्षेत्रको बीचमा रोपिएका विभिन्न प्रजातिका विरुवाहरू गोडमेल गरिएको छ ।
क्लिन एण्ड ग्रिन सुर्खेतका अभियन्ता डाक्टर नवराज केसीको अगुवाईमा वीरेन्द्रनगरस्थित जुम्ला रोडमा संरक्षणको अभावमा सुक्दै गएका बोटविरुवाको गोडमेल गरिएको हो । अभियानमा विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
बोटविरुवाको संरक्षण गरेर सुर्खेतको मुहारमा हरियो रंग दल्नु यो अभियानको मुख्य उद्देश्य रहेको अभियन्ता डाक्टर केसीले बताए । मानिसहरु एक आपसमा विभिन्न रङ दलेर रंगिन बनेर मनाइने फागुपूर्णिमाका अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाउने गरिन्छ ।