ट्रेण्डिङ

होमपेज / समाज

आगामी बजेट कर्णालीलाई केन्द्रमा राखेर आउँछ - उपसभापति खड्का

नेपालगाथा २०७९ फाल्गुण २० गते शनिबार १४:११:२१ मा प्रकाशित

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई केन्द्रमा राखेर आउने बताएका छन् । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने बताए ।

‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु कर्णालीका जिल्लाहरुमा भएका चुनावी अभियानका क्रममा मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ, त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो,’ सुर्खेतको गुर्भाकोटमा नेपाली कांग्रेसको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ ।’

संघीय सांसदसमेत रहेका खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई फोरलेनको बनाउनका लागि ठेक्का आव्हान गरिएको बताए ।

उनले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताए । उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि नयाँ सरकार गठनका विषयमा छलफल हुने बताए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि उहाँकै नेतृत्वमा कांग्रेससहित सरकारमा सहभागी हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top