ट्रेण्डिङ

होमपेज / समाज

तनहुँमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु १९ जना घाइते

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार ११:५८:१४ मा प्रकाशित

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका-५ की सुप्रीति थापा, बन्दीपुर-१ का सुप्रिम थापा, बन्दीपुर-३ की डिना चेपाङ, व्यास नगरपालिका-१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका-३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।

त्यसैगरी भानु-४ की रञ्जिता लम्साल, भानु-२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु-१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका-३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका-१ का पुजन सिञ्जाली, बन्दीपुर-४ का इसाक सुनार र शुक्लागण्डकी-२ नारन रानाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उनले बताए ।

त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् । त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top