होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा विद्यार्थीहरुले माग सम्बाेधन नभएको भन्दै तालाबन्दी गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायको केन्द्रीय क्याम्पसले सार्वजनिक गरेको मध्यवर्ती परीक्षा सञ्चालन मितिको मुखैमा आएर स्ववियु निर्वाचन आयोगले मध्यवर्ती परीक्षा रोक्ने आदेश दिएको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । मध्यवर्ती परीक्षाले निर्वाचनमा कुनै पनि बाधा नपुर्याउने भए पनि सम्पूर्ण संगठनको व्यक्तिगत स्वार्थका कारण निर्वाचन आयोगले परीक्षा रोक्ने आदेश दिएको उनीहरुकाे भनाई छ ।
उक्त निर्देशन सच्याउन एक दिनको समय दिए पनि बेवास्ता गरेको भन्दै तालाबन्दी गरिएको भन्दै मध्यवर्ती परीक्षा यसै हप्ताभित्र नगरेसम्म निर्वाचन आयोगका कुनै पनि कार्य हुन नदिने गरी थप आन्दाेलनका कार्यक्रमलाई अगाडि बढाउने समेत बताएका छन् ।
यस विषयमा स्ववियु निर्वाचन अधिकृत उपप्राध्यापक वेदप्रकाश ढकालसँग बुझ्दा विद्यार्थी संगठनहरुसँगकाे छलफलका आधारमा परीक्षा स्थगित गरिएकाे सूचना प्रकाशन गरिएकाे जानकारी दिनुभयाे । स्ववियु निर्वाचन विद्यार्थीकै हक र हितका लागि भएकाले विद्यार्थी संगठनहरुसँग छलफल गरेर उत्पन्न समस्याकाे छिट्टै समाधान गरिने निर्वाचन अधिकृत उपप्राध्यापक ढकालले नेपालगाथालाई बताउनुभयाे।