ट्रेण्डिङ

होमपेज / समाज

डिएसपीसहित १४ प्रहरी कारबाही

नेपालगाथा २०७९ फाल्गुण १७ गते बुधबार ११:५८:०० मा प्रकाशित

रुपन्देही । प्रहरीमा गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारबाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन् ।

भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहीनलगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारबाही हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरीक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, २ जना प्रहरी नायब निरीक्षक, १ जना प्रहरी वरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारबाही गरिएको हो ।

यस्तै ६ जनाले राजीनामा, ४ इन्सपेक्टरसहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले बताए । 

प्रहरीले कारबाही मात्र नगरी राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्सपेक्टरसहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरीक्षकमा ३ जना, प्रहरी नायब निरीक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ । 

आर्थिक वर्ष २०७८/७९मा ७ जना ले राजिनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको काराबाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९ जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले भने ।

कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाअन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नति हुने गरेको छ । पदोन्नति भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिना पिच्छे पुरस्कृत गर्दै आएको थियो । प्रहरी उपरीक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्यांकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top