ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच सम्झौता

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार ११:३७:४४ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच शिक्षक-कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्था सम्बन्धी सम्झौता भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र कर्मचारी संचय कोषको तर्फबाट का. मू. मुख्य प्रवन्धक महेशप्रसाद खनालले  मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मध्यपश्चिम विश्वविद्यालयको स्थापनाकाल देखि नै उपदान तथा निवृत्तभरणको व्यवस्थापन एक प्रमुख चुनौतीको विषय रहेको अवस्थामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको प्रत्यक्ष संग्लग्नतामा कार्यविधि तयार गरी दिगो रुपमा उक्त समस्याको समाधान गरिएको हो । यसरी समस्या समाधान भए पश्चात् विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी माझ खुशी छाएको साथै उत्प्रेरणा प्रदान गरेको छ ।

उक्त सम्झौता पत्रमा उल्लेख भए बमोजिम ‘सार्वजनिक निकायका कर्मचारीको निवृत्तभरण तथा उपदान कोष सञ्चालन निर्देशिका, २०७७’; ‘मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक-प्रशासनिक नियमावली, २०६९’ र ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक-कर्मचारी नियमावली, २०६९’; तथा ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक तथा कर्मचारी उपदान एवं निवृत्तिभरण व्यवस्थापन कार्यविधि, २०७९’ अनुसार उपदान तथा निवृत्तभरण सम्बन्धी व्यवस्था हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

उपदानको व्यवस्था अन्तर्गत शिक्षक-कर्मचारीको तलवबाट मासिक रुपमा कम्तिमा ८.३३ प्रतिशत रकम कट्टी गरी कर्मचारी संचय कोषमा सम्बन्धित शिक्षक-कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ भने सोहि अनुरुप कर्मचारी संचय कोषले सम्बन्धित शिक्षक-कर्मचारीलाई तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ । 

त्यसैगरी निवृत्तभरणको व्यवस्था अन्तर्गत तोकिएका शिक्षक-कर्मचारीको तलवबाट मासिक रुपमा कम्तिमा ६ प्रतिशत रकम कट्टी गरी विश्वविद्यालयले शतप्रतिशत रकम थप गरी कर्मचारी संचय कोषमा जम्मा हुनेछ भने कर्मचारी संचय कोषले सम्बन्धित शिक्षक-कर्मचारी सेवा निवृत्त/अवकाश भए पश्चात्  तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका डीनहरु, कार्यकारी निर्देशक, प्राध्यापक, उपकुलपति सचिवालयका सदस्य तथा कर्मचारी उपस्थित हुनुहुन्थ्यो भने कर्मचारी संचय कोषका तर्फबाट कर्मचारी सञ्चय कोष, सुर्खेत शाखाका कार्यालय प्रमुख रवि तामाङ्गलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top