ट्रेण्डिङ

होमपेज / समाज

प्रादेशिक मानवीय सहायता, समन्वय र आकस्मिक कार्ययोजना कार्यशाला सम्पन्न

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार १४:२९:११ मा प्रकाशित

सुर्खेत । प्रादेशिक मानवीय सहायता, समन्वय र आकस्मिक कार्ययोजनाको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा युरोपियन यूनियनको आर्थिक सहयोगमा यूएनडिपी, यूनिसेफ, यूएनउमन र स्याक नेपालद्वारा सञ्चालित सुपर परियोजनाको सहकार्यमा शुक्रबार सुर्खेतमा उक्त्त कार्यक्रम सम्पन्न भएकोे हो ।

सराेकारवाला सबैकाे समन्वय र सहकार्यमा आपतकालीन प्रतिकार्यका लागि सहकार्य र समन्वयमा सुधार गरी कर्णाली प्रदेशलाई भूकम्पीय क्षतिलाई न्यूनीकरण गर्न र आपतकालीन प्रतिकार्यलाई अनुमानित र जवाफदेही बनाउने उदेश्यले कार्यशाला गाेष्ठीकाे आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव नीधिराज न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

विपद्का क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूका लागि एकद्वार प्रणाली लागू गरी प्रभावकारी उद्दारका लागि विषयगत क्षेत्र बनाएर छलफल गरिएकाे थियाे । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा जारी गरिएको “विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण निर्देशिका २०७६” अनुसार विषयगत क्षेत्र बनाइएर छलफल गरिएकाे थियाे ।

छलफलमा मानवीय सिद्दान्त, मानवीय सहायता प्रणाली, अन्तर्राष्ट्रिय मानवीय समन्वय, खाेज तथा उद्दार, खाद्य सुरक्षा, स्वास्थ्य र पाेषण लगायतका विषयहरूमा समूहगत छलफल र प्रस्तुतीकरण गरिएकाे थियाे ।

कर्णाली प्रदेशमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि काम गर्नका लागि खोज उद्धार तथा समन्वय विषयगत क्षेत्र, वन्दोबस्ती समन्वय विषयगत क्षेत्र, खाद्यसुरक्षा समन्वय विषयगत क्षेत्र र सरसफाइका क्षेत्रमा काम गर्ने गरी वास विषयगत क्षेत्र बनाइएकाे छ । यसैगरी स्वास्थ्य तथा पोषण समन्वय विषयगत क्षेत्र, नगद वा काम दिने समन्वय विषयगत क्षेत्र, शिक्षा समन्वय विषयगत क्षेत्र, संरक्षण समन्वय विषयगत क्षेत्र र आवास तथा शिविर व्यवस्थापन समन्वय विषयगत क्षेत्र बनाएर छुट्टाछुट्टै छलफल तथा प्रस्तुतीकरण गरिएकाे थियाे । 

विषयगत क्षेत्रलाइ सक्रिय बनाउन समूहमा छलफल गरी कार्य याेजना बनाएर कार्यान्वयनमा ल्याइने बताइएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top