ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली कोरिडोर अन्तरगत खुलालु– सलीसल्ला सडक कालोपत्रे हुने

नेपालगाथा २०७९ फाल्गुण ११ गते बिहीबार ११:२४:२३ मा प्रकाशित

हुम्ला । कर्णाली कोरिडोर अन्तरगत कालिकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको छ । उक्त सडक खण्डको सडक निर्माण भएर स्तरोन्नति कार्य पूरा भएपछि सडक विभागले कालोपत्रे गर्ने कार्य अगाडि बढाएको हो । 

हाल सो खण्ड हेर्दै आएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र कुमार यादवले खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्रे गर्ने कार्य थालनी भएको बताउनुभयो । यो खण्डमा पहिलो पटक सडक कालोपत्रे हुन लागेको हो । उहाँले यसका लागि सडक विभागले डिपिआर तयार गर्ने कार्य पूरा भएको र अब आगामी आर्थिक वर्ष सडक कालोपत्रे गर्ने कार्य सुरु हुने बताउनुभयो ।

कालोपत्रे सडक डबल लेनको हुनेछ । डिपिआर प्रतिवेदन चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरे लगत्तै काम सुरु हुनेछ । उहाँले यति बेला बजेटको लागत अनुमान भइरहेको बताउनुभयो । हाल उक्त कच्ची सडकमा यातायातका साधनहरू सञ्चालन हुँदै आएका छन् । यो खण्डको लम्बाइ १२२  किलोमिटर छ । 

 उहाँले पूरै खण्ड कालोपत्रे गर्न चारदेखि पाँच वर्ष लाग्ने बताउनुभयो । हाल आयोजनाले छ वटा प्याकेजमा यो खण्डको सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य निर्माण कम्पनीमार्फत भइरहेको छ । यसका लागि छ वटा निर्माण कम्पनी मार्फत आठ करोड लगानी गरिएको छ । सडक कालोपत्रे भएपछि यातायात सञ्चालनमा सहजता हुनेछ । हाल धुलाम्मे र खाल्डाखुल्डी भएको सडकमा सवारी साधन सञ्चालन भइरहेका छन् । यो खण्डको काम नेपाली सेनाले १९ महिना अगाडि सम्पन्न गरेर आयोजनालाई हस्तान्तरण गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top