होमपेज / समाज
सुर्खेत । समाज जागरण केन्द्र (स्याक) नेपालले सोमबार सिम्ता गाउँपालिकामा सार्वजनिक परीक्षण सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले स्याक नेपालको समुदायमा आधारित रहेर सञ्चालन गर्ने हरेक कार्यक्रमहरु उदाहरणीय र प्रभावकारी बनेको बताउनुभयो । सिम्ताका समुदायको समृद्धिका लागि स्याक नेपालले गरेका कार्यक्रमहरु मध्ये खानेपानी र पोषणको प्रभावकारिता उल्लेख्य मात्रामा भएको बताउदै अध्यक्ष चन्दले आगामी दिनमा समेत थप कार्यक्रमको साझेदारीका लागि आग्रह गर्नुभयो ।
स्याक नेपाललाई सबै सरोकारवालाहरुप्रति जिम्मेवार र जवाफदेही बनाई सुधारका लागि सुझावहरु संकलन गर्ने उद्देश्यले कार्यक्रम स्थलमा नै पुगेर सार्वजनिक परीक्षण गर्न लागेको बताउँदै स्याक नेपालका उपाध्यक्ष खगेन्द्र सापकोटाले स्याक नेपालका सामाजिक परिक्षण विधिलाई स्पष्ट र व्यवस्थित गर्दै सामाजिक परीक्षण विधिमा एकरुपता ल्याई सामाजिक परिक्षण कार्यलाई संस्थागत गरिएको जानकारी दिनुभयो ।

सुआहारा नेपालका कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्माले पारदर्शीता र उत्तरदायित्वका सन्दर्भमा स्याक नेपालले समुदायमा नै पुगेर गरेको सार्वजनिक परीक्षणको खुलेर प्रशंसा गर्नुभयो । उहाँले स्याक नेपालले थुप्रै परियोजनाको स्थलगत अध्ययन गरेर भिडियो सामग्री संकलन गरेर गरेको सार्वजनिक परीक्षणले संस्थाको विश्वसनीयता र जिम्मेवारीलाई झल्काएको बताउनुभयो ।
यसैगरी हेल्भेटास नेपालका वास अधिकृत नरजंग शाहीले रुपैयाँ पैसाको मात्र अडिट हुन्छ भन्नेहरुका लागि सम्बन्धित कार्यक्रम स्थलमा नै पुगेर गरिने सामाजिक परीक्षणले स्याक नेपालको छबिमा थप विश्वसनीयता, पारदर्शीता र जिम्मेवारीलाई बढाएको बताउनुभयो ।
करिब दुई दशकभन्दा बढी समयदेखि स्याक नेपालसँगको साझेदारीमा कार्यक्रम गरिरहेको बताउँदै अधिकृत शाहीले कुनै पनि परियोजना सक्नु मात्र ठूलो कुरा नभई उक्त परियोजनालाई कसरी दिगो बनाउने भन्ने सन्दर्भमा उपभोक्ता सचेत हुनुपर्ने बताउनुभयो ।
केअर नेपालका रजनीकान्त चौधरीले सफल कथाहरुको भिडियोले नै सामाजिक परीक्षण सफल भएको भन्दै स्याक नेपालले गरेका थुप्रै राम्रा कामहरुलाई मिडियामा ल्याएर सबैलाई जानकारी दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले विभिन्न दातृ निकाय मार्फत स्याक नेपालले गरेका कार्यक्रमहरु समुदायको आवश्यकताका आधारमा सञ्चालन गरेकाले सबै कार्यक्रमको प्रभावकारिता बढिरहेको बताएका छन् । अडियाे भिडियाे सामग्री सहित तयार पारिएकाे सार्वजनिक परीक्षणकाे सहभागीहरूले तारिफ गरेका थिए ।
स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले संस्थाका विभिन्न गतिविधिहरुका बारेमा जानकारी दिँदै कार्यक्रम सञ्चालन भएका पालिकामा नै गएर सार्वजनिक परीक्षण गर्ने रणनीति अनुसार सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा सार्वजनिक परीक्षण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमका उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै स्याक नेपालका अध्यक्ष मिना तिवारीले स्याक नेपालले सञ्चालन गरेका विभिन्न कार्यक्रम र आयोजनाहरुको सामाजिक जिम्मेवारी पूरा गर्न त्यसलाई पालना गर्न भएका प्रयासहरु र कार्य सम्पादनको लेखाजोखाका बारेमा जानकारी आदानप्रदान गर्न समुदाय स्थलमा नै पुगेर सार्वजनिक परीक्षणको आयोजना गरिएको बताउनुभयो ।
त्रिभुवन बिसीले प्रस्तुत गर्नुभएको सार्वजनिक परीक्षण कार्यक्रमको सञ्चालन स्याक नेपालका परियोजना संयोजक रेशम चन्दले गर्नुभएको थियो ।