होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समय तालिका सार्वजनिक भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन अधिकृत उपप्राध्यापक वेदप्रकाश ढकालका अनुसार निर्वाचन प्रक्रिया फागुन १८ गतेदेखि प्रारम्भ भई चैत्र ३ गते ५ बजे सकिने छ ।
निर्वाचनको पहिलो दिन फागुन १८ गते बिहान १० बजे मतदाताको पहिलो नामावली प्रकाशन हुनेछ । यसैगरी सोही दिन दिनको १२ बजेदेखि १९ गते दिनको २ बजेसम्म मतदाता नामावली संशोधनका साथै नामावली उपर दावी विरोधको समय तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले १९ गते बेलुका ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । फागुन २१ गते बिहान ८ बजेदेखि दिनको ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र वितरण तथा समानुपातिक उम्मेदवारको बन्द सूची पेश गरिसक्नुपर्ने समय तोकिएको छ । सोही दिन बेलुका ५ बजे मनोनय पत्र दर्ता भएका उम्मेदवारहरुको नामावलीको सूची प्रकाशन हुनेछ ।
उम्मेदवारको विरोधमा उजुरी २४ गते बिहान ८ बजेदेखि दिनका २ बजेसम्म र सोही दिन ३ बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर जाँचबुझ गरी ५ बजेर ३० मिनेटमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने तालिका रहेको स्ववियु निर्वाचनको कार्यालय केन्द्रीय विभागले जनाएको छ ।
यसैगरी फागुन २५ गते बिहान ८ बजेदेखि दिनको २ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछ । सोही दिन बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
निर्वाचनका सबै तयारी पूरा भइसकेपछि चैत्र ३ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान प्रक्रिया सम्पन्न गर्ने निर्वाचन अधिकृत उपप्राध्यापक वेदप्रकाश ढकालद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय केन्द्रीय विभाग वीरेन्द्रनगर सुर्खेतले शुक्रबार स्ववियु निर्वाचन सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
