होमपेज / समाज
काठमाडौं । सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ ।
सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघका प्रतिनिधिसहितको चिकित्सक टोलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भएको तीन घण्टा लामो वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो। चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले एक साता भित्र विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थान कार्यविधि, २०७७ लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार सरकार एक साताभित्रै 'विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७'लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमत भएको छ । यस्तै, भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ ।
यस्तो छ ६ बुँदे सहमति :
१. मिति २०७९/ १०/ २७ गते दिनको ४.१५ बजेको समयमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाको बारेमा वार्ता टोलीमा छलफल भयो । साथै, उक्त घटनामा घाइते हुनु भएका चिकित्सकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो ।
२. मिति २०७९/ १०/ २७ गतेका दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन शुरु भई सकेकोले समग्र पक्षमा एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने ।
३. घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने ।
४. विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता हुने गरी “विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने । नेपाल सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने ।
५. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने। साथै, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावक बनाउन आवश्यक व्यवस्था गर्ने ।
६. नेपाल चिकित्सक संघले अगाडि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने ।