होमपेज / समाज
काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको छ । चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै संघले देशभरको स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो ।
संघले आज एक विज्ञप्ति जारी गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार संसद भवनमा सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनाबाट गम्भीर ध्यानाकर्षण भएको संघले बताएको छ । संघले शनिबार विज्ञप्ति जारी गरी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा त्यसको विरोधमा आइतबार माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ ।
संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको जनाएको छ ।
