ट्रेण्डिङ

होमपेज / समाज

झुक्क्याएर नागरिकता लिन खोज्ने युवक प्रहरी नियन्त्रणमा

नेपालगाथा २०७९ माघ २५ गते बुधबार १२:४७:०३ मा प्रकाशित

जनकपुरधाम ।  नक्कली आमा बुबा खडा गरेर नेपाली नागरिकता लिन खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरी जिल्लामा आफ्ना मामा माइजुलाई बुबा आमा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मानिकचौक पश्चिमी पञ्चायत वडा नम्बर –१० बस्ने बुवा धर्मेन्द्र कुमार र आमा शैल देवीका छोरा १८ वर्षीय आकाश कुमार साह रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–९ बस्ने मामा राजकिशोर साह र माइजु उर्मिला देवी साहलाई बुबा आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेका आकाश कुमार साहलाई नायब सुब्बा भरत यादवले नागरिकता बनाउनु अगाडि शंका लागेर सोधपुछ गर्दा उनी भारतीय नागरिक रहेको भेटिएपछि पक्राउ गरिएको हो ।

नागरिकताका लागि आइतबार नै जिल्ला प्रशासन कार्यालय आएका आकाशको भारतीय शैक्षिक प्रमाण पत्र देखेपछि कर्मचारीलाई शंका लागेपछि नागरिकता रोकेका थिए।  उनका बुबा बनेर आएका मामा राज किशोरलाई सनाखत गराई सोमबार नागरिकता दिने भनी फर्काएका थिए । तर, सोमबार दिउँसो २ बजे आकाश नागरिकता लिन आउँदा नासु भरत यादवसहितको कर्मचारी टोलीले उनीसँग आवश्यक सोधपुछ गर्दा उनी भारतीय नागरिक ठहरिएपछि उनलाई तत्कालै पक्राउ गरिएको थियो ।

उनी पक्राउ परेपछि उनलाई नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धर्मेन्द्र कुमार लाललाई पनि जिल्ला प्रशासनले फोन गरेर बोलाएको थियो। आकाशले फर्जी रुपमा बुवबा(आमाको नाम कम्प्युटर माध्यमबाट स्क्यान गरेर माध्यमिक परीक्षाको नक्कली भारतीय शैक्षिक प्रमाण पत्र बनाएर मामा र माइजुको नाम बुबा आमाकोमा लेखेर ल्याएका छन् भने उनको जन्मदर्तामा मामा माईजुलाई बुवा आमा बनाएर यही माघ ४ गते मनरासिस्वा नगरपालिका ९ बाट जन्मदर्ता प्रमाण पत्र जारी भएको भेटिएको छ ।

उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति ई‍‍‍‍.स. २००५ जनवरी १ कायम गरिएको छ भने जन्मदर्ता प्रमाण पत्रमा जन्म मिति २०६१ पुस १७ गते कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले नेपाली नागरिकता प्रमाण पत्र लिन खोजेका युवक आकाश,नागरिकता बनाउन सिफारिस गरेका वडा अध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धमेन्द्र कुमार लाल तीनैजनालाई कार्यालयको मुद्दा शाखामा राखेर बयान लिएर आवश्यक कारबाहीका लागि मंगलबार राति नै जिल्ला प्रहरी कार्यालयमा पठाइएको सहायक प्रजिअ न्यौपानेले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top