ट्रेण्डिङ

होमपेज / समाज

बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

नेपालगाथा २०७९ माघ २४ गते मंगलबार १४:०७:०० मा प्रकाशित

 

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ ।

खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षणबढेको हो । कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै जाँदा खेतीयोग्य जमिन बिस्तारै घट्दै जाने चिन्ता पनि थपिएको छ । यस क्षेत्रमा बढ्दो जग्गा प्लटिङका कारण खेतीयोग्य जमिनमा मासिन थालेको छ । यस क्षेत्रमा तरकारी खेती गर्ने अधिकांश किसान काठमाडौँभन्दा बाहिरी जिल्लाका छन् ।

उनीहरुले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका अनुसार ८० देखि ९० प्रतिशत किसान बाहिरी जिल्लाबाट आएका छन् । उनीहरुले प्रतिरोपनी वार्षिक रू १० हजारदेखि २५ हजारसम्म भाडा बुझाउने गरेका छन् । रोल्पाबाट आएका कर्णबहादुर घर्तीमगरले चन्द्रागिरि नगरपालिका–४ थानकोटमा ३५ रोपनी जग्गा भाडामा लएर तरकारी खेती गरिरहनुभएको छ । उहाँ अहिले गोलभेँडा स्याहार गरी फेरि गोलभेँडा रोप्ने तयारीमा हुनुहुन्छ । यस क्षेत्रका केही किसानले तरकारीखेतीबाट राम्रो आम्दानी गर्न सके पनि कतिपयले भने रोगका कारण अपेक्षा अनुसारको आम्दानी लिन नसकेको बताउँदै आएका छन् । रोप्लाका मगर पनि मल र बीउलगायत विभिन्न समस्या तथा सरकारी नीतिका कारण अपेक्षाअनुसारको आम्दानी नभएको बताउनुहुन्छ ।

काभ्रेपलाञ्चोबाट यहाँ आइ खेती गरिरहनुभएका किसान सुरेश लामाले पनि जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको लामो समय भइसकेको छ । राम्रोसँग समय दिएर तरकारी खेती गर्न सके राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । उहाँले तरकारी खेतीसँगै गाईपालन पनि गर्नुभएको छ । चन्द्रागिरिमा अन्य खेतीको तुलनामा तरकारी खेती बढी हुने गरेको छ । तरकारीमा पनि गोलभेँडा अत्यधिक उत्पादन हुन्छ । यहाँ उत्पादन हुने गोलभेँडा रसिलो र मीठो हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । काठमाडौँ कालीमाटी तरकारी बजारका व्यापारीले खेतमै आइ थोक मूल्यमा तरकारी लिएर जाने गरेका छन् । चन्द्रागिरिमा तरकारी खेती गर्ने दुई सय ७३ कृषि फार्म तथा समूह सूचीकृत रहेको रहेको नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ । उहाँका अनुसार यहाँ ८६ हजार रोपनीमध्ये हाल झन्डै २६ हजार रोपनीमा खेती हुने गरेको छ । जसमध्ये १० प्रतिशत किसानले गाईवस्तु र कुखुरापालन समेत गरेको उहाँको भनाइ छ ।

तरकारी खेतीमा लागेका कति किसान सूचीकृत नभएकाले अभिलेख नगरपालिकासँग छैन । गोलभेँडासँगै यहाँका किसान च्याउ खेतीमा पनि उत्तिकै सक्रिय छन् । विशेष गरी बलम्बुको च्याउको बजार राम्रो छ । तर नगरपालिकासँग भने यहाँबाट वार्षिक कति तरकारी उत्पादन हुन्छ ? कारोबार कति हुन्छ ? भन्ने कुनै अभिलेख नभएको प्रवक्ता खड्गीको भनाइ छ । उहाँका अनुसार नगरपालिकाले तरकारी खेतीमा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको र अहिले पनि च्याउ खेतीका लागि आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top