होमपेज / समाज
काठमाडौं । बलात्कारको मुद्दामा धरौटीमा रिहा भएका सन्दीप लामिछाने सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्। भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालतको आदेशपछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।
सन्दीपलाई धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरोधमा सर्वोच्च अदालत जान लागेको सन्दीपतर्फका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिए। ‘हो, हामी सर्वोच्च अदालत जाने तयारीमा छौं। उच्च अदालतले सन्दीपलाई धेरै धरौटी रकम लिएको र विदेश जानबाट रोकेको छ, खेल्न पाउने एक खेलाडीको हैसियतमा उसको अधिकार हो, त्यसैले हामी सर्वोच्च जान लागेका हौं,’ उनले भने।
अदालतमा आफैँ हाजिर हुन आएका खेलाडीलाई खेल्न पाउने अधिकारबाट रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च जानुपरेको पनि व्यवसायी घिमिरेले बताए। यद्यपि, भदौमा बलात्कारको मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएपछि एक महिना भागेका सन्दीप असोज २० गते नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।