होमपेज / समाज
काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेका अति विपन्न चार परिवारका लागि निर्माण गरिएका पक्की घर हस्तान्तरण गरिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्रनारायण निधी आवास योजना अन्तर्गत नगरपालिकाका वडा नं ६, ७, ९ र १७ का अति विपन्न परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य बेची लुङ्गेली जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ६ का वीरबहादुर क्याप्छाकी मगर, वडा नं ७ का बिशे राई, वडा नं ९ का शम्भु बलम्पाकी मगर र वडा नं १७ का लक्ष्मी थापाको परिवारलाई पक्की घर हस्तान्तरण गरिएको हो । चार परिवारका लागि दुई कोठाको पक्की घर, किचन, शौचालय निर्माण गरिएको तथा प्रत्येक घरमा चापाकल पनि निर्माण गरिने लुङ्गेलीले बताउनुभयो । प्रतिपरिवार रू पाँच लाख ५० हजार लागतमा घर निर्माण गरिएको हो ।
आर्थिक अवस्था दयनीय रहेको तथा घाम, पानीमा ओत लाग्ने गतिलो घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहका आफूहरुले पक्की घर पाएपछि खुसी लागेको लालबन्दी नगरपालिका–६ का वीरबहादुरले बताउनुभयो । पानी चुहिने झुप्रो घरमा बस्दै आएकोमा लङ्गेलीको पहलबाट पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको लालबन्दी नगरपालिका–७ राईले बताउनुभयो । महेन्द्र नारायणनिधि आवास योजना अन्तर्गत दोस्रो चरणमा लालबन्दी नगरपालिका ५, ६ र १० मा थप तीन परिवारका लागि घर निर्माण गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य लुङ्गेलीले जानकारी दिनुभयो । वडाबाटै सामाजिक सुरक्षा भत्ता सर्लाहीको चक्रघट्टा गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा स्तरबाटै वृद्धवृद्धा, एकल महिला, अशक्त, अपाङ्गता र अन्य लाभग्राहीलाई भत्ता वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिनुभयो । गाउँपालिकामा आएर भत्ता लिन टाढापर्ने र सास्तीसमेत खेप्नुपर्ने भएपछि वडाबाटै भत्ता वितरण सुरु गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
उहाँका अनुसार सोमबार पहिलो दिन चक्रघट्टा गाउँपालिका १ शिवनगरमा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी सम्बन्धित वडामा पुगेर वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गाउँपालिकाले जनाएको छ । पैदल वा सवारी साधनमा भत्ता बुझ्न आउँदा वृद्धवृद्धालाई निकै समस्या हुने गरेको गुनासो आएपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको उहाँको भनाइ छ । रासस