ट्रेण्डिङ

होमपेज / समाज

आचार्यको मृत्यु प्रकरणमा प्रहरीले थाल्याे अनुसन्धान

नेपालगाथा २०७९ माघ १६ गते सोमबार १५:४५:३८ मा प्रकाशित

काठमाडौं । संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ ।

त्यहीक्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरी स्रोतले  बताएकाे छ ।

उनले भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको विषयमा  उल्लेख गरेकाले त्यस विषयमा सोधपुछ भइरहेको प्रहरी स्रोतले बतायो । उनीसहित आचार्यको स्ट्याटसमा उल्लेखित अन्य व्यक्तिसँग पनि सोधपुछ हुने प्रहरीले जनाएको छ । अघिल्लो साता मंगलबार दिउँसो आफैंलाई आगो लगाएका प्रेमप्रसादको भोलिपल्ट बिहान ६ बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । मृत्यु हुनुअघि अस्पतालमा स्वास्थ्य राज्यमन्त्री डा‍‍‍ तोशिमा कार्कीले उनीसँग भेट गरेका थिए । त्यसक्रममा उनले आफ्नो कुरा कसैले नसुनेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top