होमपेज / समाज
सुर्खेत | अदानचुलीका अघिल्ला अध्यक्ष दल फडेराकै पालादेखि सिमकोट गाउँपालिका वडा नं ५ स्थित खड्क परियारको घरमा चार कोठे भवन भाडामा लिइएको छ । सिमकोटमा घर भाडाबापत वार्षिक १ लाख २० हजार रुपैयाँ खर्च गर्ने गरिएको छ । सदरमुकाममा गाउँपालिकाले घर भाडामा लिन जरुरी नभएको विषय जोडदार रूपले उठ्दै आए पनि जनप्रतिनिधि र कर्मचारीले सुनेका छैनन् ।
सदरमुकाममा घर बहालमा लिने मात्र होइन, अदानचुली गाउँपालिकाले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४, गाउँरनगरसभा सञ्चालन कार्यविधि २०७५ ले दिएका अधिकारको दुरुपयोग गर्दै मनलाग्दी बजेट विनियोजन र खर्च गर्ने गरेको पाइएको छ ।
स्थानीय तहलाई आफ्नो बजेट, नीति तथा कार्यक्रम बनाउने, स्वीकृतिदेखि निकासा गर्ने, आन्तरिक लेखापरीक्षणसम्मको अधिकार दिएको छ । ऐन कानूनले दिएको यही अधिकारको दुरुपयोग हुने गरी अदानचुली गाउँपालिकाले आफ्नै हात जगन्नाथ भनेझैं बजेटको मनलाग्दी र अस्वभाविक खर्च गरेको छ । बजेट खर्च, कर्मचारी परिचालनका विषयमा अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्णबहादुर रोकायाको स्वार्थ नमिल्दा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । उपाध्यक्ष रोकायाले निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दिएपछि गाउँपालिकाका कतुर्तहरू छताछुल्ल भएका छन् ।
कार्यकारिणी अधिकार दुरुपयोग गरी गाउँपालिकाले अनावश्यक शीर्षकमा लाखौं बजेट फजुल कार्यमा खर्च गरेको फेहरिस्त लामै छ । गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको जवाफमा वैशाखमा नयाँ जनप्रतिनिधि आएयता कार्यालय व्यवस्थापन तथा सञ्चालन मसलन्द, भिजिटिङ कार्ड, नेमप्लेट एवं विविध खर्च ९ लाख ९० हजार, कार्यालय सञ्चालन पुरानो तथा नयाँ खर्चको भुक्तानी ४ लाख ६४ हजार ७६०, जनप्रतिनिधिको कार्ड तथा नेमप्लेट लगायतमा ९४ हजार ७४५, बेड सिट १४ हजार ६५८, टोल विकास समितिको कार्ड छपाइमा ७९ हजार ७२० रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
त्यस्तै काठमाडौं र सुर्खेतमा तालिममा सहभागी हुँदा ७० हजार ६००, मशिनरी सामान खरिद १३ लाख ७९ हजार, निर्वाचनमा सीसीटिभी क्यामरा जडान ६ लाख ५० हजार ४५, विविध सामग्री खरिद अन्तर्गत झोला टाबेलमा ३ लाख ४६ हजार ५२७, मशिनरी सामान मर्मत १ लाख ७९ हजार, कार्यालय सामग्री खरिद विविध १ लाख ४२ हजार ५७८, कार्पेट खरिद ३ लाख ३५ हजार ९४९, बलवीर जडीबुटी लेखापरीक्षण एवं अन्य खर्च ४ लाख ५० हजार, कार्यालय सामान तथा पुरानो भुक्तानी ३ लाख १२ हजार २००, सवारी साधन गाडी मर्मत नयाँ तथा पुरानो भुक्तानी ६ लाख १७ हजार ६११ रुपैयाँ खर्च गरिएको छ ।
लेखापरीक्षण समय तथा अन्य समयमा मसलन्द खर्च ४ लाख ५० हजार, कार्यपालिका बैठक तथा अन्य समयमा विशेष व्यक्तित्वको होटल बास खर्च ३ लाख ६३ हजार ३७५, कार्यालय सामग्री तथा काटेज खर्च १ लाख ९६ हजार २४०, कार्यालय सामग्री खरिद ४ लाख ३३ हजार ५, गाउँपालिकाको गाडी मर्मत पुरानो खर्च ४ लाख ८६ हजार ५८६, गाउँपालिकाको एम्बुलेन्स मर्मत ५ लाख ६४ हजार ९७० बजेट खर्च गरेको उल्लेख छ ।
सिमकोट गाउँपालिका ७ का वडाध्यक्ष बलवीर शाहीको कम्पनी बलवीर जडीबुटी र बलवीर कम्युनिकेसनको नाममा पनि अनावश्यक बिल खर्च गरिएको छ ।
एउटै व्यक्तिका ३ फर्मसँग कोटेसन माग
अदानचुली गाउँपालिकाले पेन्ट ब्याग ९झोला०, रेनकोट, तौलिया, छाता र सुटकेश खरिद गर्दा एउटै व्यक्तिका ३ फर्मलाई समावेश गरेको पाइएको छ । ती सामान खरिदमा २०७८ कात्तिक ३ गते वीरेन्द्रनगर ६ स्थित राजु कलेक्सनले ३ लाख ७८ हजार ३७५ को कोटेसन पेश गरेको छ । मिति २०७९ लेख्नुपर्नेमा उक्त कोटेसन पत्रमा २०७८ लेखिएको छ ।
२०७९ कात्तिक ५ गते फिक्स शपले ३ लाख १९ हजार ७८५ र कात्तिक ६ गते न्यू राजु कलेक्सनले ३ लाख १० हजार ७९० रुपैयाँको कोटेसन पेश गरेको छ । जबकि यी तीनवटै फर्म व्यवसायी रामप्रसाद पाण्डे ९राजु० का हुन् । राजु कलेक्सन वीरेन्द्रनगरको पुरानो र चलेको फेन्सी पसलमा पर्दछ । सोही भवनको दोस्रो तलामा फिक्स शप छ, जो उनकै सहोदर भाइले चलाउँदै आएका छन् । गाउँपालिकाले सामान खरिदमा स्वच्छ प्रतिस्पर्धा नगरी एउटै व्यक्तिसँग मिलेमतोमा कोटेसन माग गर्ने र स्वीकृत गर्दा बजारमा चल्तीको भन्दा दोब्बरतेब्बर मूल्य भुक्तानी गरेको छ । ती सामान खरिदमा न्यू राजु कलेक्सन नामको ३ लाख १० हजार ७९० रुपैयाँको कोटेसन स्वीकृत गरी सामान खरिद गरिएको छ ।
न्यू राजु कलेक्सनले छाता प्रतिथान ६७५, सुटकेश प्रतिथान ७ हजार ८००, तौलिया प्रतिथान ९५०, रेनकोट प्रतिथान ४ हजार ६०० र पेन्ट ब्याग प्रतिथान २ हजार ३८० रुपैयाँमा बिक्री गरेको छ । छाता २०, सुटकेश ३, तौलिया ५५, रेनकोट १३ र पेन्ट ब्याग ६८ थान खरिद गरिएको थियो । रेनकोट, तौलिया, सुटकेश लगायतको बिल बजार मूल्यभन्दा निकै बढी छ ।