होमपेज / समाज
सुर्खेत । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार) एलाइन्स कर्णाली प्रदेशको अध्यक्षमा नविन कुमार शाही (कालिकाेट) चयन हुनुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार आयोजिम मञ्चको प्रथम अधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति चयन गरिएको हो । मञ्चकाे उपाध्यक्ष राधा मल्ल (दैलेख र प्रेम बुढा हुम्ला, सचिव खिम बहादुर रेग्मी (सुर्खेत), सहसचिव अकबर खान (सुर्खेत) र करविर चदारा (जाजरकाेट), कोषाध्यक्ष सुनिता पुन (सल्यान) चयन हुनुभएको छ । मञ्चकाे सदस्यहरुमा राधिका मल्ल (मुगु), सन्ताेश शाही (डाेल्पा), जनक रावत (जुम्ला) र लाेकेश मल्ल (रुकुम पश्चिम) चयन हुनु भएकाे छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले राज्यबाट हुने मानव अधिकार उलंघनका घटनामा कमी आए पनि समाजबाट हुने त्यस्ता घटनामा कमी आउन नसकेको भन्दै सामाजिक विभेद र उत्पिडन विरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । समुन्नत एवं समृद्ध समाज निर्माणका लागि जातीय एवं सामाजिक विभेदको अन्त्य हुनुपर्ने बताउँदै कंडेलले त्यसको अन्त्यका लागि लाग्न एलाइन्सलाई सुझाव दिनुभयो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले मानव अधिकारको पवर्द्धनका लागि एमाले पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रको पवर्द्धनका लागि लाग्न सुझाव दिनुभयो । एलाइन्सका केन्द्रीय अध्यक्ष मिनबहादुर शाहीले मानव अधिकारको रक्षा, समाजिक न्याय र समृद्ध समाज निर्माणका लागि सबै स्थानीय तहमा एलायन्सका शाखा गठन गरिने जानकारी दिनुभयो । एलाइन्सका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज टिकाराम आचार्यको अध्यक्षमा प्रथम सम्मलेन सम्पन्न भएको हो ।