होमपेज / समाज
काठमाडौं । काठमाडौंस्थित संघीय संसद् भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेका पुरुषले व्यक्तिगत र पारिवारिक कारणले घटना गराएको प्रहरीले प्रारम्भीक निस्कर्ष निकालेको छ ।
बानेश्वरको सडकमा आज इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए ।
उनको अवस्था गम्भीर छ । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुरमा लगिएको छ । उच्च प्रहरी स्रोतका अनुसार घाइते आचार्यका दाई पर्ने एकजना संसद् सचिवालयमै कार्यरत छन् ।
उनी नातामा आचार्यका मामाका छोरा हुन् । उनीसँगै जोडिएर घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । आचार्य नयाँ बानेश्वरमै बस्दै आएका थिए भने केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
उच्च प्रहरी अधिकारीले भने, “घटना राजनीतिक देखिएको छैन । अहिले उनकी श्रीमतीलाई प्रहरीले सुरक्षा दिइरहेको छ । अन्य पाटो अनुसन्धानबाट खुल्ला ।”