ट्रेण्डिङ

होमपेज / समाज

पुस्तक प्रदर्शनी थप पाँच दिन

नेपालगाथा २०७९ माघ १० गते मंगलबार १४:००:१९ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले ३०१औँ पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा पाठकको रुचि बढेपछि पाँच दिन थप गरिने भएको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानको भानुभक्त कक्षमा गत पुस २६ गतेदेखि पुस्तक प्रदर्शनी भइरहेको छ । कुल १५ दिनका लागि तय गरिएको प्रदर्शनीको अवधि बुधबार सकिन लागेकामा १६ गते सहीद दिवससम्म समय थप गरिएको हो ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को पुस महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले  जानकारी गराएका छन्। प्रदर्शनीमा रू तीनदेखि रू दुई हजार २०७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० भन्दा बढी प्रकारका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

नेपाली वृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उनले दिएका छन् । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रू तीनदेखि नेपाली वृहत् शब्दकोशको रू एक हजार आठ सय ९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उनले बताए ।

प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रज्ञाले वर्षमा कम्तीमा तीन पटक–पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत् सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हातमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top