ट्रेण्डिङ

होमपेज / समाज

सुरु भयो अर्गानिक बेसार उद्योग

नेपालगाथा २०७९ माघ ८ गते आइतबार २२:३३:२१ मा प्रकाशित

विनोद कंडेल, सुर्खेत । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. १० नयाँ घुस्रा स्थित काँक्रेविहार सशक्तिकरण महिला समूहले औपचारिक कार्यक्रमको आयोजना गरी अर्गानिक बेसार उद्योगको सुरुवात गरेको छ । भिएसओ नेपाल, राष्ट्रिय कृषक समूह महासङ्घको प्रत्यक्ष सहयोग र क्रियटिभ क्लबको सहकार्यमा उक्त समूहलाई बेसार पिस्ने मेसिन उपलब्ध गराएर उद्योगको अवधारणामा कामको सुरुवात गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् १० नम्बर वडाका वडा सदस्य मनोहरलाल आचार्यले विभिन्न दातृ निकायहरूको सहयोगमा समूहगत रुपमा पछाडि पारिएका दलित समुदायलाई सबैले हेपाहा दृष्टिले हेरिने समुदायले व्यवसाय उन्मुख बेसार खेती गरी बेसार उत्पादनको काम सुरु गरेको कुरा निकै नै प्रशंसनीय भएकाे बताए । उनले आगामी दिनमा व्यवस्थितिकरण र निरन्तरताका लागि आवश्यक पर्ने कुराहरुका लागि वडा कार्यालयले सदैव सहयोग गर्ने र सहयोगी निकाय समक्ष माग पेश गर्ने समेत जानकारी दिए ।

यसैगरी वडा नं १० की वडा सदस्य सन्ध्या परियारले दलित समुदायमा सरोकारवाला निकायले सहयोग गरेकाले आज सबै समुहका दिदीबहिनीहरु व्यस्त भई उत्पादन र आयआर्जनका क्रियाकलापमा संलग्न भएकाे बताइन् । साथै सबैले उक्त समुदायलाई दयाको दृष्टिले नभई उत्पादक र व्यवसायिक दृष्टिले हेर्नका लागि समेत अपिल गरिन् ।

सिमान्तकृत समूहलाई आयआर्जनका लागि पैरवी गर्दै जाँदा जिविकोपार्जनका साथै आत्मनिर्भर बन्ने काममा सहयोग पुर्याउने उद्देश्यले सो मेसिन उपलब्ध गराइएको राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय उपाध्यक्ष शशीराम आचार्यले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका नगर कृषि विकास शाखाका पदम नेपालीले सुरुवात गरिएको बेसार उद्योगका लागि आगामी दिनमा आवश्यक पर्ने सामग्रीका लागि समुूबाट माग भएको खण्डमा शाखाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका अतिथि एवं भट्टराई मसला उद्योगका सञ्चालक खड्गप्रसाद भट्टराईले अर्गानिक उत्पादनका लागि हाल चुनौती भइरहेको अवस्थामा उद्योग स्थापना गर्नु आफैमा गौरवको कुरा भएको र उत्पादन गरेका वस्तुहरु आम उपभोक्ता समक्ष लैजानको लागि व्राण्ड दर्ता गर्नुपर्ने र आधिकारिकता लिएर पेशा व्यवसाय थप सुढृढ गर्नुपर्ने सल्लाह दिए ।

यसैगरी क्रियटिभ क्लबका अध्यक्ष त्रिभुवन बिसीले सानो प्रयासबाट सुरुवात गरिएको उक्त समूहगत कार्य आज औपचारिक समारोहको आयोजना गरी उद्योगमा रुपान्तरण भएकोमा खुशी व्यक्त गरे । सुरुवात गरिएको उद्योग एवं उद्योगका मेसिनलाई थप व्यवस्थित गर्दै ग्राहकको माग अनुरुप गुणस्तरीय उत्पादन गरी बजारीकरणमा जोड दिनुपर्ने उनको धारणा रहेको थियो ।

कार्यक्रमको समापन गर्दै समुहकी अध्यक्ष एवं कार्यक्रमकी सभाध्यक्ष टिका देवी सुनारले व्यवसाय निरन्तर सञ्चालनका लागि छुट्टै विद्युत र भवनको आवश्यकता भएको हुँदा सम्बन्धित निकायले सहयोग गर्नुपर्ने अपेक्षा जाहेर गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top