होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्। यस्तै अहिलेको जस्तै लाइनमा बस्नुपर्ने समस्या भए जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
‘कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर तपाईँहरू पन्छिन पाउनुहुन्न’, प्रचण्डले भने, ‘तीनै तहमा तपाईँहरुले खटाएका कर्मचारीले काम गरिरहेका छन् । र उनीहरूको कार्यसम्पादनमा मूल्यांकन गर्ने अधिकार तपाइहरूले लिएर बस्नुभएकै छ । त्यसैले त्यहाँका जनताका दुख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर तपाइँ हामी पन्छिन मिल्दैन ।’