होमपेज / समाज
काठमाडौं । नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनियर) सौरभ बज्राचार्यले गत साता डिजाइन बुझाइएको र अहिले समीक्षा (रिभ्यू)को काम भइरहेको बताउनुभयो । “हामीसँग रिभ्यूका लागि ४५ दिनको समय छ, सो अवधिभित्र स्वीकृति दिनुपर्छ ।” निर्माण कम्पनीले तयार गरेको डिजाइन केन्द्रले भने अनुसार नभए हेरफेर हुने सूचना अधिकारी बज्राचार्यले बताउनुभयो । केन्द्रले आवश्यक भनेका कुरा समेटिएको भएमा भने स्वीकृत हुने उहाँको भनाइ छ ।
“सडक विभागले स्वीकृत गरेपछि फिल्डमा काम हुन्छ”, उहाँले भन्नुभयो । केन्द्रका अनुसार निर्माण व्यवसायी र विदेशी इन्डिपेन्डेन्ट चेकर (स्वतन्त्र जाँच गर्ने व्यक्ति)सँग यसमा छलफल हुनेछ । आगामी साता कम्पनीसँग परामर्श बैठक हुने र केही परिवर्तन गर्नु नपरे डिजाइनअनुसार निर्माण अघि बढ्ने उहाँको भनाइ छ । योजना निर्माणको जिम्मेवारी चाइना स्टेट इञ्जिनियरिङ कन्स्ट्रक्सन कपार्नेरेसनले पाएको छ । सोही कम्पनीले अहिले नारायणगढ–बुटवल सडकखण्डमा काम गरिरहेको छ । गतवर्ष भएको ठेक्काको निर्माण अवधि चार वर्षको हुनेछ । जसमा पहिलो वर्ष डिजाइनमा र बाँकी तीन वर्ष निर्माणमा खर्च हुनेछ । निर्धारित समयभन्दा अघि नै डिजाइन सकाइएको छ । “अब डिजाइन स्वीकृत भएपछि एकदुई महिना सामान जुटाउन लाग्छ र त्यसपछि निर्माणमा जानेछ”, उहाँले भन्नुभयो ।
दुई दिन पहिलेबाट निर्माणस्थलमा तयारीका लागि पर्खाल लगाउने, फाउण्डेसन मिलाउनेलगायतका काम सुरु भएको केन्द्रको भनाइ छ । निर्माणअघि सिद्धबाबाको मन्दिर चढ्ने पहिलो भ¥याङ भत्काउनुपर्ने र मन्दिर पछाडिको भवन केही भाग भत्काउनुपर्ने सूचना अधिकारी बज्राचार्यले बताउनुभयो । स्थानीयले नभत्काए हुन्थ्यो भन्ने सुझाव आए पनि त्यो नभत्काई काम गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म बचाउन प्रयास भएको हो तर भत्काउनै पर्ने भएको छ ।” सुरुङ निर्माणका लागि वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रक्रियामा छ । पहिलेको सडक क्षेत्रमा नै योजना बन्ने हुँदा वन क्षेत्र धेरै नपर्ने उहाँले बताउनुभयो । सडक सीमाभित्रै काम गरिने र धेरै रुख काट्नुपर्ने नभएकाले निर्माणको क्रममा धेरै समस्या नआउने अनुमान गरिएको छ ।
निर्माण कम्पनीले सुरुमा सुरुङको मुखबाट काम सुरु गर्ने गरी कार्ययोजना बनाइनेछ । सुरुङ र रकसेड सँगसँगै निर्माण गर्दा सडकमा व्यवस्थापनमा समस्या पर्ने हुँदा एउटा सकाएर अर्काे गरिने उहाँले बताउनुभयो । सुरुङ सकिएर त्यहाँबाट गाडी गुड्न थालेपछि रकसेड निर्माण अघि बढाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुङ धेरै लामो छैन भने सुरुङ निर्माण एकैपटक दुबैतिरबाट हुँदा सवारी व्यवस्था गर्न गाह्रो हुने भएकाले एकातर्फबाट गर्दा ठीक हुन्छ ।” अहिलेसम्म निर्माणको अवधिमा कसरी सवारी व्यवस्थापन गर्ने भनी कार्ययोजना व्यवसायीले केन्द्रलाई दिइसकेको भने छैन ।
पहिले डिजाइन स्वीकृत भएपछि कार्ययोजना आउने उहाँको भनाइ छ । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो । नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् । सुरुङको लम्बाइ एक हजार दुई सय मिटर मिटरको हुनेछ ।
सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस