होमपेज / समाज
काठमाडौं । विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।
पेले अर्थात फुटबलका जादुगर अब सम्झनामा मात्रै रहने छन् । तर उनले दिएको योगदान र पाएको उपलब्धिले भने सिंगो फुटबल जगतले सदा सम्झिरहने छ ।कोलोन क्यान्सर फैलदै शरीरका धेरै अंगहरूले काम गर्न छाडेपछि थला परेका पेले उपचारका लागि गत नोभेम्बरमा अस्पतालमा भर्ना भएका थिए । नाङ्गो खुट्टा हिड्नुपर्ने गरिबीबाट माथि उठेर आधुनिक इतिहासको सबैभन्दा महान् र चर्चित खेलाडी बन्न सफल भएका थिए ।
पहिलो विश्वकप केवल १७ वर्षमा जितेका उनलाई कालो मोतीका रुपमा समेत धेरैले चिन्ने गर्छन्। फुटबलको तेज गतिका खेलाडीसँगै मन्द मुस्कान र विनम्रताका कारण पेले विश्वका प्रशंसकहरूको मन–मस्तिष्कमा बस्न सफल छन्। फुटबलको विश्वबारे फिटिक्कै रूची नहुनेका लागि पनि कम्तीमा पेलेबारे भने केही थाहा हुन्थ्यो । यो उदाहरण त हाम्रैतिर पनि उत्तिकै मिल्छ । यसले पनि देखाउँछ, यी पेले फुटबलका कति धेरै सर्वकालीन महान् खेलाडी हुन भनेर ।आफ्नो २१ वर्षे व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलमा सहभागी भएर १ हजार २ सय ८१ गोल गर्दै किर्तिमान पनि राखेका छन्। एउटै खेलाडीले ३ पटकसमम विश्वकप जिताएको रेकर्ड उनकै नाममा छ। उनी सन् १९५८ , सन् १९६२ र सन् १९७० मा ब्राजिललाई विश्वकप जिताउन सफल भएका थिए। उनले देशका लागि ९२ म्याचमा ७७ गोल गरेका छन्।
पेलेको बाल्यकालको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो । तर पछि उनको नाम पेले रहन गयो । पेलेले तीनपटक विवाह गरेका थिए । सन् १९६६ मा पेले रोसेमेरी दोस रेइस चोल्बीसँग विवाह बन्धनमा बाहिए । तर, यो सम्बन्ध १९८२ मा पुगेर टुट्यो । त्यसको १२ वर्षपछि पेलेले दोस्रो विवाह गरे । तर एसिरिया नास्सिमेन्तोसँग विवाह गरेको १४ वर्षपछि यो सम्बन्ध पनि टिकेन । पेलेले २०१६ मा मार्सिया आयोकीसँग विवाह गरेका थिए । पेलेका सात सन्तान छन् । पेलेले तीन वर्ष खेलकुद मन्त्री भएर पनि काम गरे ।