ट्रेण्डिङ

होमपेज / समाज

सम्माननीय राष्ट्रपतिज्यूद्वारा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको समुद्घाटन

नेपालगाथा २०७९ पौष ९ गते शनिबार १४:३६:५४ मा प्रकाशित

काठमाडौं ।  मिति २०७९ साल पौष ८ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले सुर्खेतको कुइनेपानीमा एक भव्य कार्यक्रमका बीच मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको शिलालेख अनावरण गरी समुद्घाटन गर्नुभएको छ ।

उक्त समारोहमा सम्माननीय राष्ट्रपति भण्डारीज्यूले विश्वविद्यालयका ठूला दाता मोतीप्रसाद सापकोटाज्यूलाई अभिनन्दन सहित कदर पत्र प्रदान गर्नुभएको थियो भने उद्घाटन समारोहलाई सम्बोधन गर्दै मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्वले अवलम्बन गरेको भ्रष्टाचार विरोधी अभियान, पारदर्शिता, जवाफदेहिता र अन्य विभिन्न क्षेत्रमा सफलता हासिल गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्दै मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वले नेपालको समग्र शैक्षिक सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उक्त समारोहमा कर्णाली प्रदेशका प्रदेश प्रमुख मा. तिलक परियारज्यूको उपस्थिति रहेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूले समारोहमा विश्वविद्यालयको नीति तथा कार्यक्रमको सङ्क्षिप्त प्रस्तुति सहित स्वागत मन्तव्य राख्नुभएको थियो । समारोहमा माननीय सङ्घीय सांसदज्यूहरू, प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू, कर्णाली प्रदेश सभाका माननीय सांसदज्यूहरू, विश्वविद्यालय सभाका सभासद्ज्यूहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्रप्रसाद रिजालज्यूले गर्नु भएको थियो ।

उक्त समारोहको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top