होमपेज / समाज
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् ।
सरकारले रेशमको रिहाइका लागि अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट उनीहरू पार्टीको झण्डासहित फूलमाला बोकेर स्वागतका लागि जेलबाहिर पुगेका हुन् । त्यहाँ पुगेका पत्रकारलाई फोटो तथा भिडिओ नखिच्न नागरिक उन्मुक्तिका कार्यकर्ताले भनेका थिए ।
२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।
डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।
चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए ।