होमपेज / समाज
काठमाडौं । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर नगरपालिका वडा नं ५, जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था र गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ । गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् । सहमति गराउन वडा अध्यक्ष नवराज लामाले पनि सहयोग गर्नुभएको बचतकर्ताले जनाएका छन् । मञ्जुश्री सहकारी कार्यालयअघि मोबाइल पसल सञ्चालन गर्नुहुने कविन्द्र अधिकारी पैसा तिर्ने प्रतिबद्धता जनाउने तर कार्यालय नखोल्ने गर्दा शङ्का लाग्ने अवस्था आएको बताउनुहुन्छ।
दैनिक कार्यालय खोलेर सहकारीमा भइरहेका गतिविधिका बारेमा बचतकर्तालाई जानकारी गराए समस्या समाधानमा सहजता हुने उहाँले बताउनुभयो । बचत फिर्ता गर्न नसकी समस्यामा परेका सहकारीका पदाधिकारी, सञ्चालक र कर्मचारीको फोन सम्पर्क हुन छोडेको छ । जसले गर्दा बचतकर्ता तनावमा रहेका छन् । सहकारीको प्रभावकारी नियमन र अनुगमन नहुँदा बचतकर्ता तनावमा रहनुपर्ने अवस्था आएको एक बचतकर्ता श्याम लामाले बताउनुभयो । रासस