होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले प्रमुख तीन क्षेत्रमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने भएकाे छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको अध्यक्षतामा शनिबार बसेको बैठकले प्रमुख तीनवटा कार्यक्रम गर्ने जनाएकाे हाे । महिला हिंसा विरुद्धको अभियान (Orange the World) संचालन गर्नका लागि सामाजिक सचेतना कार्यक्रम (Social Awareness Program); महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन (Women Violence Defence Skills Demonstration) र लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने कार्यक्रम गर्ने भएकाे छ ।
उक्त कार्य सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थायी एमयू सक्रियता केन्द्र (MU Activism Center Against Gender Based Violence) स्थापना गर्ने उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप.प्रा. पन्चदेव भट्टले जानकारी दिनुभएको छ ।
उप-प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा समिति
उक्त कार्यक्रमहरु संचालन गर्नका लागि मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति रहने जनाइएकाे छ । यसैगरी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको संरक्षत्व तथा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, विश्वविद्यालय सेवा आयोगका सदस्य, सबै संकायका डीनहरु, कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, विभागीय प्रमुख/संयोजकहरु, निर्देशकहरु तथा क्याम्पस प्रमुखहरु सल्लाहकारकाे भूमिकामा रहने समेत विश्वविद्यालयले जनाएकाे छ ।
अभियानको प्रमुख उदेश्य समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय तथा क्याम्पस/स्कुलहरुमा हुने लैंगिक हिंसा न्यूनीकरण गर्ने विश्वविद्यालयले जनाएकाे छ । यसका साथै यो अभियान नेपाल सरकार तथा संयुक्त राष्ट्र संघलाई समेत लैंगिक हिंसा न्यूनीकरणका राष्ट्रिय एवं अन्तरराष्ट्रिय कार्य र नीति निर्माणमा सहयोग गर्ने बताइएकाे छ ।
वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्षज्यू, रजिष्ट्रारज्यू, डीनज्यूहरु, कार्यकारी निर्देशकज्यूहरु, केन्द्रीय विभाग प्रमुखज्यूहरु, निर्देशकज्यूहरु, प्राध्यापकज्यूहरु, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।