होमपेज / समाज
काठमाडाैं । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान नपाइने निर्वाचन आयोगले जनाएकाे छ ।
मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तुसमेत लैजान निषेधित गरिएकाे छ । यसैगरी मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउन समेत निर्वाचन आयोगले आह्वान गरेकाे छ ।
उक्त निर्देशनलाइ अटेर गरी यदि कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो साथमा लगी मतसंकेत गर्ने स्थान, मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने निर्वाचन आयोगले जनाएकाे छ ।
साथै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउन समेत निर्वाचन आयोगले सबै समक्ष अनुराेध गरेकाे छ ।