होमपेज / समाज
काठमाडौं । बुहारीमा प्रत्यारोपण गर्न निकालिएको सासूको मिर्गौला प्रत्यारोपण नगरी सर्जन अस्पतालबाट बाहिरिएपछि वीर अस्पताल दुई दिनयता तनावग्रस्त बनेको छ ।
चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् ।
डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठ बिरामीका आफन्त र अस्पतालमा समेत जानकारी नगराई हिँडेपछि तनाव उत्पन्न भएको हो ।
अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । ‘प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो देखिएको थियो । तर, निकालेर हेर्दा मिर्गौला प्रत्यारोपणका लागि योग्य थिएन’, डा. बस्नेतले भने, ‘केही न केही रोग छ होला । यो कुरा छानबिनमा पुष्टि होला ।’