होमपेज / समाज
काठमाडौं । मध्य तथा लामो दूरीमा चल्ने सवारीसाधन आइतबारदेखि अनिवार्य रूपमा यान्त्रिक परीक्षणविना चल्न नपाउने भएका छन् ।
दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए ।
परीक्षणपछि मात्रै मध्य तथा लामो दूरीमा चल्ने सवारीसाधन छुट्न पाउनेछन् ।‘प्रत्येक वर्ष दसैँमा सवारीसाधन दुर्घटना बढ्ने गरेको र धनजनको क्षति भएको देखियो । यसलाई न्यूनीकरण गर्न सरकारले मेरै संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको बैठकले विभिन्न १४ बुँदे निर्णय गरेको छ । जसमा मध्य तथा लामो दूरी चल्ने सवारीसाधनका लागि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । नत्र त्यस्ता सवारीसाधन सञ्चालन हुन सक्दैनन्,’पोखरेलले भने ।
यसैगरी यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।