ट्रेण्डिङ

होमपेज / समाज

क्यानले सन्दीपलाई किन निलम्बन नगरेकाे?

कानुनी सहयोग गर्ने कि अनुसन्धानमा मद्दत गर्ने?

नेपालगाथा २०७९ भाद्र २३ गते बिहीबार १५:१२:४२ मा प्रकाशित

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन्।

एक १७ वर्षीया नाबालिकाले आफूमाथि सन्दीपले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि सन्दीपले कानुनी लडाइँमा सहयोग गर्न क्यानसँग गुहार मागेका हुन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने ।अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त नेपालका पहिलो र एकमात्र क्रिकेट खेलाडी हुन् सन्दिप लामिछाने ।उनको करिअर अचानक कालो बादलले ढाकिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपसँग नियमित कुरा भइरहेको बताए । उनले भने, ‘सन्दीपसँग हाम्रो कुरा भइरहेको छ । हामीले पनि अध्ययन गरिरहेका छौँ । सन्दीपले कानुनी रूपमा अगाडि बढ्न कसरी सकिन्छ भनेर हामीसँग सहयोग र सल्लाह गरिरहका छन्।’

मल्लले लामिछानेसँग क्यानको कुरा भइसकेको र सीपीएल सकिएपछि स्वदेश फर्किने बताएको जानकारी दिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।मंगलबार साँझ नुवाकोटकी नाबालिकालाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउको अनुमति मागेको हो । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

हाल लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका छन् ।  लामिछाने अहिले पनि कप्तान नै छन् ।सन्दीपलाई तत्काल हटाउन क्यान  हिचकिच्याइरहेको छ ।लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ । यसमा आईसीसी गम्भीर बनेको छ। 

क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि तत्काल कुनै निर्णय नलिने भनेकाे छ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने ।

क्यानकम तर्फबाट सचिव मल्लले क्रिकेटर सन्दीपसँग बुधबार राति घटनाका बारेमा जानकारी लिएका हुन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top