होमपेज / समाज
काठमाडौं । बलात्कार अभियोगमा किटानी जाहेरीपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तीव्र तुल्याएको छ।
नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।सन्दीप र ती किशोरी भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ।भदौ ६ गते बिहान ६ बजेर ४५ मिनेटमा बाहिरिएको देखिएको छ। प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ।
बुधवार एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटलमा पुगेर प्रहरी वृत गौशालाबाट खटिएका अनुसन्धान अधिकृतहरूले होटलको क्लोज सर्किट (सिसि) क्यामराका दृश्य संकलन गरेका हुन् ।सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।
अनुसन्धान अधिकृतहरूले होटलका कर्मचारीहरूसँग सोधपुछ गरेका छन् । एक प्रहरी अधिकृतका अनुसार होटलभित्र प्रवेश गर्दा र बाहिरिँदाको किशोरीको हाउभाउ भने फरक देखिएको बताएका छन। होटलबाट बाहिरिँदा किशोरीको हिँडाइ असहज देखिएको उनकाे भनाइ छ।
‘होटल प्रवेश गर्दाको हिँडाइ र बाहिरिँदाको हिँडाइ फरक देखिएको छ। उनी निकै असहज महसुस गरेर बाहिरिएको फुटेजमा देखिएको छ’, प्रहरीका एक उच्च अधिकारीले भने।
आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् । ‘दिनभर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्विकार गरेपछि काठमाडौं ल्याए’ प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ–‘काठमाडौं आइपुग्दा मेरो होस्टल बन्द भैसकेको थियो, त्यसैले उनले होटलमा बस्न प्रस्ताव गरेका हुन् ।’
होटलमा दुईवटा कोठामा छुट्टाछुट्टै बस्ने सहमति भएपनि लामिछानेले ‘अरु कोठा खाली रहेनछ’ भन्दै एउटा मात्रै कोठा लिएका थिए ।घटनाको अनुसन्धान प्रहरी वृत्त गौशाला परिसरले गरिरहेको छ।प्रहरीले सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालतसँग अनुमती मागेको छ ।
लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।