होमपेज / समाज
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जबरजस्ती करणीको कसूरमा उजुरी परेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार लामिछानेले १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेकाे हाे।भदौ ५ गते सन्दीपले होटलमा लगेर बलात्कार गरेको पीडितले बयान दिएकी छिन् ।
लामिछानेले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै मंगलबार १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी हुन्।मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर हुने उल्लेख छ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, 'नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित होटल काठमाडौं इनको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।'
प्रहरीकाे अनुसार क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको छ।लामिछाने र पीडित भनिएकी किशोरी गएका बेला कार्यरत कर्मचारीसँग पनि प्रहरीले बयान लिनेछ । प्राविधिक पक्षको विश्लेषणबाट उनीहरुबीच त्यसबेला टेलिफोन कुराकानी भएको थियो थिएन भन्ने पनि प्रहरी निकाल्नेछ ।
हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिजमा रहेका सन्दीपलाई उताबाट काठमाडौं फर्केलगत्तै प्रहरीले पक्राउ गरेर हिरासतमा लिन सक्छ।सन्दीप विदेशमा रहेकाले दुई देशका सरकार वा प्रहरीसँग सम्वन्य गर्न सकिने र त्यसबाट सम्भव नभए इन्टरपोलबाट रेड नोटिस जारी गरेर भए पनि पक्राउ गर्न सकिने प्रहरीले बताएकाे छ।
मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ ।