होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकारबीच भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि सम्झौता भएको छ। बाँकेको नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रममा वीरेन्द्रनगरकाका प्रमुख मोहनमाया ढकाल र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमकान्त दवाडीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
यो योजनाले वीरेन्द्रनगरको खानेपानी समस्याको समाधान गर्ने विश्वास गरिएको छ। देशकै बृहत् खानेपानी आयोजना अन्तरगत रहेको यो योजना सम्पन्न गर्न सम्पूर्ण नगरबासीको सहयोगको अपेक्षा पनि नगरपालिकाले राखेको छ।

विभागका महानिर्देशक रमाकान्त दवाडीसहित खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, कर्णाली प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव देवराज निरौलाको रोहवरमा नगर प्रमुख ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन्। साथै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, सुर्खेत उपत्यका खानेपानीका अध्यक्ष कुलमणि देवकोटा र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीको समेत सहभागिता रहेको थियो।
नगरप्रमुख ढकालले निर्वाचन समयमा तीन वर्षभित्र वीरेन्द्रनगरबासीलाई खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। त्यसै प्रतिबद्धताअनुसार काम अघि सारेको उनले जानकारी दिइन्। यस्तै, अब ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो अयोजना दुई चरणमा सञ्चालन हुनेछ। ढकालकाअनुसार पहिलो तीन वर्षमा पहिलो चरणको पानी विरतण हुनेछ। दोस्रो तीनवर्षमा योजना पूर्ण रुपमा सञ्चालन हुने छ। आयोजना सम्पन्न गर्न करिब ६ अर्ब रुपैयाँ लगानी हुने नगरपालिकाले जनाएको छ।