होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले अवैधानिक रुपमा निर्माण गरिएका संरचनाहरुमा डोजर चलाएर चर्चामा छन्।
यसैक्रममा बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काए । बिहीबारै बिहान महानगरका मेयर बालेन्द्र शाह बालेन अवलोकनमा जाँदा अल्फाबिटाका सञ्चालक द्धिराज शर्मासँग चर्काचर्की भएको थियो ।
सञ्चालकले नक्सा देखाउन नमानेपछि बालेन आफैं अपरान्ह नक्सा लिएर फ्लोरमा पुगे। उनीसँगै डोजर पनि पुग्यो।ठूलो संख्यामा स्थानीय, बटुवा, सञ्चारकर्मी समेत त्यहाँ पुगेका थिए।
मेयर शाह पहिलोपटक अल्फाबिटा जाँदा अनधिकृत संरचना निरिक्षणका लागि मात्र गएका थिए। त्यही क्रममा उनले अल्फाबिटा ग्रुपका सञ्चालक शर्मालाई भवन निर्माणको नक्सा मागे। यसअघि मेयर साहले अनधिकृत रूपमा सञ्चालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर संरचना बनाएको’ जिकिर गरेका थिए। मेयर साहले वैधानिक भए ‘नक्सा देखाउन’ आग्रह गर्दा शर्माले महानगरसँगै हुनुपर्ने जवाफ दिएपछि मेयर साह ‘तपाईंको घरको नक्सा अरूसँग हुन्छ रुु भन्दै आक्रोशित भएका थिए।
अल्फाबिटाका सञ्चालक शर्माले पनि आफूहरूले नियमविपरीत काम नगरेको दाबी गरे।
बुधबार सुन्धारास्थित काठमाडौं मल तथा आरबी कम्प्लेक्समा पनि बालेनको ‘डोजर’ चलेको थियो। ती क्षेत्रमा रहेका केही संरचना भत्काएर सञ्चालकहरुलाई जुन प्रयोजनका लागि प्रयोग गर्ने भन्दै नक्सा पास गरिएको हो, सोही प्रयोजनमा लगाउन बालेनले निर्देशन पनि दिएका थिए।
अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् । बस्नेतले फेसबुकमा बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पासअनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ? भन्दै प्रश्न गरेका छन् । साथै बस्नेतले लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।’
सोही पोस्टमा बालेनले कमेन्ट गरे।बालेनले पहिलो कारणअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् ।
नक्सामा समावेश नभएका अनधिकृत संरचना हटाउने विषयमा महानगरले साउन २ मा ३५ दिने सूचना जारी गरेको थियो । सूचनामा ‘स्वीकृत नक्साबमोजिम बेसमेन्ट, सेमी बेसमेन्ट, गोदाम र भुईं तला अन्य प्रयोजनमा लगाइएको देखिएकाले ३५ दिनभित्र नक्सा स्वीकृतिबमोजिम पार्किङको व्यवस्था गर्न’ भनिएको थियो ।